नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिको आज काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार सिफारिस गर्नेबारे छलफल गर्न बैठक बसेको छ।
मेयरका उम्मेदवार सिफारिस गर्नेबारे छलफल गरिएको पार्टी सचिव पुरूषोत्तम खकुरेलले जानकारी गराए। स्थानीय चुनाव केन्द्रित बैठक चलिरहेको छ। मेयरका आकांक्षीका नाम सिफारिस गर्नेबारे पनि छलफल भइरहेको छ,’ खकुरेलले भने, ‘महानगरका सभापति नीलकाजी शाक्यको नाम सिफारिस गर्ने यसअघि नै निर्णय गरिएको हो। अन्य नाम पनि सिफारिस गर्ने तयारी छ।’
मेयरका इच्छुकहरूबाट नाम लिन पार्टीले समय दिएर आह्वान गर्ने वा नगर्नेबारे भने अहिले निर्णय भइनसकेको उनले बताए।
मेयरका आकांक्षी रहेका महानगर सभापतिमा पराजित प्रगतिमान रञ्जितले भने आफूलाई बैठकमा नबोलाइएको बताए। ‘मलाई बैठकमै बोलाइएको छैन। म पनि मेयरको आकांक्षी हुँ,’ उनले भने।
उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, नेता तीर्थमान डंगोल, महाधिवेशन प्रतिनिधि सिर्जना सिंह, महानगर सचिव सुशन वैद्य, प्रदेश सभा सदस्य नरोत्तम वैद्य, महाधिवेशन प्रतिनिधि सपना जोशी पनि काठमाडौंको मेयरका लागिआकांक्षी छन्।
