प्रधानसेनापति शर्माले स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न के के निर्देशन दिए ?

७ बैशाख २०७९, बुधबार १२:१७

प्रधानसेनापति प्रभुराम शर्माले आसन्न स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न सकल दर्जालाई आग्रह गरेका छन्।

नेपाली सेनाका विभागीय प्रमुखको उपस्थितिमा चारवटै कमान्डका कमान्ड सेनापतिलाई प्रधान सेनापति शर्माले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिएका हुन्। आ–आफ्नो जिम्मेवारी क्षेत्रको सुरक्षा स्थितिको निरन्तर मूल्याङ्कन गर्दै, जिल्ला प्रशासन कार्यालयहरू, प्रदेश एवं स्थानीय सुरक्षा निकाय तथा जिल्ला निर्वाचन आयोगका कार्यालयसँग असरदार रूपमा समन्वय गरी काम गर्न प्रधानसेनापति शर्माले निर्देशन दिएको हो।

निर्वाचन अवधिभर देशैभरि नेपाली सेना उच्च सतर्कताका साथ रहन तथा बम डिस्पोजल टोली आवश्यकता अनुसार तयारी हालतमा राख्न निर्देशन दिँदै प्रधानसेनापति शर्माले नेपाल सरकार तथा निर्वाचन आयोगको कार्यादेशबमोजिम शान्ति सुरक्षा तथा सु–व्यवस्था कायम गरी आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन पनि निर्देशन दिए। ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा उल्लेखित नेपाली सेनासम्बन्धी बुँदाहरूलाई अक्षरशः पालना गर्नसमेत प्रधान सेनापति शर्माले निर्देशन दिएका थिए ।