एमालेसँग राप्रपा नेपालले ललितपुर महानगरपालिकामा उपमेयर पद माग

४ बैशाख २०७९, आईतवार १७:३८

ललितपुरको गोदावरी र ललितपुर महानगरपालिकामा उपमेयर पद एमालेसँग तालमेल गर्ने सहमति गरेको राप्रपा नेपालले मागेको छ । केही वडा अध्यक्ष पनि राप्रपा नेपालले पार्टीले पाउनुपर्ने माग गरेको छ ।

एमालेको पार्टी कार्यालय ललितपुरमा आज बसेको दुबै पार्टीका प्रतिनिधिहरू बीचको बैठकमा राप्रपा नेपालले सो माग अघि सारेको हो । ‘हामीले नगरका वडाहरूमा पनि दाबी गरेका छौँ’, बैठक पछि राप्रपा नेपालका ललितपुर अध्यक्ष राजेन्द्र महर्जनले भने ।

अध्यक्ष महर्जनले बताए अनुसार दुई पार्टी आपसमा बसेर सौहार्दपूर्ण रुपमा सबै कुरा टुङ्गो लगाउने जानकारी गराए। उक्त बैठकमा एमाले ललितपुर अध्यक्ष पुरुषोत्तम दाहाल, प्रदेश सदस्य बाबुकाजी प्रधान र राप्रपा नेपालबाट जिल्ला अध्यक्ष राजेन्द्र महर्जन, जिल्ला उपाध्यक्ष गोबिन्द खड्का र जिल्ला सचिब अमर मालिल गायतका नेताहरुको उपस्थिति रहेको थियो।