पोखरा महानगरको मेयर र उपमेयरको आकांक्षीले जनही २५ र २० हजार रुपैया शुल्क तिर्नु पर्ने

४ बैशाख २०७९, आईतवार १५:१५

नेपाली कांग्रेसले महानगरका मेयर र उपमेयरका आकांक्षीलाई जनही २५ र २० हजार रुपैया शुल्क लगाएको छ।

कांग्रेस पोखराका सचिव गणेशबहादुर थापाले महानगरको मेयर र उपमेयरका आकांक्षीसँग जनही २५ हजार र २० हजार रुपैया शुल्क लगाएको बताएका छन्।

कांग्रेसले आइतबार पोखरा महानगरको मेयर र उपमेयरको उम्मेदवार छनौट गर्न र आकांक्षीले आवेदन दिन आह्वान गरेको थियो। महागर कार्यसमितिले पोखरा महानगरमा उम्मेदवार आकांक्षीसँग स्वेच्छिक रुपमा सहयोग लिन निर्णय गरेको थापाले बताए।

‘हामीले उम्मेदवारको आकांक्षीसँग अनिवार्य शुल्क तिर्नु भनेका होइनौं, स्वेच्छिक भनेका छौं,’ उनले भने, ‘केहीले शुल्क तिर्नुभएको छ, केहीले तिर्नुभएको छैन।’

हालसम्म पोखरा महानगरको मेयरमा ९ जना र उपमेयरमा ७ जनाले आकांक्षीले दाबी पेश गरेको थापाले जानकारी दिए। उम्मेदवारका आकांक्षीसँग लिएको रकमबाट पार्टी संचालन र चुनाव खर्चका रुपमा प्रयोग गर्ने निर्णय भएको समेत उनले जानकारी दिए।

कांग्रेस केन्द्रले भने निर्वाचनमा उम्मेदवार आकांक्षीको नाम संकलन र सिफारिस गर्दा शुल्क नलिन निर्देशन दिएको कांग्रेस कास्कीका सचिव भानु ढकालले बताए।

यसतै कर्णाली प्रदेशमा सत्ता गठबन्धनले उम्मेदवारको छनौट गर्न गाह्रो भएको छ भने नेकपा एमालले देशका विभिन्न स्थानमा उम्मेदवार नाम सिफारिस गरेको छ ।