गठबन्धनका शीर्ष नेताहरूबीच सोमबारसम्म उम्मेदवार टुंग्याउने सहमति

४ बैशाख २०७९, आईतवार १३:११

महानगरपालिका र उपमहानगरपालिकामा उठाउने उम्मेदवारको नाम भोलिसम्म टुंग्याउन पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच सहमति भएको छ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच सोमबारसम्म उम्मेदवार टुंग्याउन सहमति आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भएको हो। गठबन्धनमा महानगर र उपमहानगरको टुंगो केन्द्रले लगाउने यसअघि नै निर्णय भएको थियो । तर, यो विषयमा सहमति जुट्न सकेको थिएन ।

सत्तागठबन्धनले ३० वैशाखमा हुने स्थानीय चुनावमा ६ महानगर र ११ उपमहानगर भागबन्डा गरी उम्मेदवार उठाउने तयारी गरेका छन् । यद्यपि कहाँ कुन पार्टीको उम्मेदवारले टिकट पाउने भन्नेबारे भने टुंगो लाग्न बाँकी छ ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने समझदारी गरिसकेका छन् । केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म बनेका गठबन्धनका संयन्त्रले स्थानीय तहको अवस्था र तालमेलको सम्भावनाबारे छलफल गरिरहेका छन् ।