कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको २०७८ पुस ३ गते हत्या भएको थियो । दासको टाउको काटेर शरीरबाट अलग बनाएको अवस्थामा स्थानिय अमरावती सामुदायिक बनमा शव भेटिएको थियो ।
उक्त हत्यामा संलग्न भएका आरोपित हत्याराहरुलाई वैशाख १ मा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर–१ बेलहिया सीमा नाकाबाट प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपमा मनोज भण्डारीसहित ४ जनालाई रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी गराए ।
दास हत्या आरोपमा पक्राउ पर्नेमा जानकी–९ घर भएका १९ वर्षका मनोज भण्डारी, सोही ठाउँका १९ वर्षीय सुमित साउद, बम बहादुर बोहोरा उर्फ बमे र रोन परियार उर्फ दिलिप दास छन् । महाशाखाको टोलीले वैशाख १ मा उनीहरुलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर–१ बेलहिया सीमा नाकाबाट पक्राउ गरी काठमाडौंमा सार्वजनिक गरेको छ ।
