बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड, कसलाई कति पर्याे ?

२९ चैत्र २०७८, मंगलवार ०९:३७

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मंगलबार बिहान बाँडफाँड भएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार कम्पनीको आईपीओ भाग्यमानी १ लाख ६६ हजार ३४५ जनाले मात्रै सेयर पाएका छन् । जसमध्ये १ लाख ६६ हजार ३४२ जनाले १० कित्ताका दरले तथा भाग्यमानी ३ जनाले थप १।१ कित्ताका दरले कुल ११ कित्ता सेयर प्राप्त गरेका हुन् । सेयर पाउने संख्या कुल आवेदकको ८ प्रतिशत मात्र हो ।

सर्वसाधारणबाट माग भएको सेयरको तुलनामा उच्च आवेदनका कारण यो निष्काशनमा समेत २१ लाख ३ हजार ७१ जनाको भने हात खाली हुनेछ । आईपीओमा आवेदन गरेका ९२ प्रतिशतले आवेदक सेयर प्राप्त गर्न सकेनन् ।

कम्पनीले चैत्र १६ गते बुधबारबाट चैत्र २१ गते, सोमबारसम्म सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गरेको हो ।

कुल जारी सेयरमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि तथा ५ प्रतिशत अर्थात ९१ हजार ३८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडको कार्यालय, लक्ष्मण बाबु भवन, नक्साल, काठमाडौँमा मंगलबार बिहान ९ बजे आईपीओ बाँडफाँड भएको हो ।