सत्ता गठबन्धनमा आबद्ध पाँच दलहरुबीच स्थानीय निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक बस्दै छ ।
साँझ ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । उक्त बैठकमा निर्वाचनलाई सफल बनाउने विषयमा छलफल गर्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
उनले भने, गठबन्धनका उम्मेदवार जिताउनेबारे विस्तृत छलफल हुन्छ । चुनावी तालमेलको मापदण्डबारे पनि निष्कर्षमा पुग्छौँ । गठबन्धनका शीर्ष नेताहरूले सोमबार संयुक्त अपिल जारी गर्दै नेता–कार्यकर्तालाई सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरेका थिए ।
देशैभर ठाउँ र अवस्थाअनुसार तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न उनीहरुको आग्रह छ । तर गठबन्धनभित्र तालमेलको मापदण्डबारे सहमति भइसकेको छैन ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले पनि आजको बैठकले संयन्त्रमार्फत तालमेलको मापदण्ड तयार पार्ने बताए । उनले भने, ‘कुन तहबाट कसरी एक–आपसमा एकता गर्ने भन्नेबारे आज बैठकमा एउटा मापदण्ड बनाउछौं ।’
आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीको प्रवृतिको विरोध गठबन्धन गर्न परेको गठबन्धनमा आबद्ध केही शीर्ष नेताहरुले बताएका छन् ।
