देउवा सरकार राष्ट्रियता र विकास विरोधी भएको एमाले उपाध्यक्ष पौडेलको खुलासा

२८ चैत्र २०७८, सोमबार १६:११

गठबन्धन सरकार नेपाल र नेपाली जनताका लागि बोझ भएको एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् । उपाध्यक्ष पौडेलले परमादेशका आधारमा बनेको वर्तमान देउवा सरकार राष्ट्रियता र विकास विरोधी रहेको सोमबार बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै बताए हुन्।

‘गठबन्धन सरकार नेपाल र नेपाली समाजका लागि बोझ र जिउँदो लास भएको छ’, पौडेलले भने, ‘परमादेशका आधारमा बनेको सरकारलाई नेपाली जनताले विस्थापित गर्न चाहान्छन् ।’

उनले आगामी निर्वाचनपछि नेकपा एमालेले बहुमतको सरकार बनाउने र विकासलाई निरन्तरता दिने दावी समेत गरे । उनले यस्ता गठबन्धन एमालेले धेरै पटक देखेको भन्दै एमालेको विजयलाई जस्तासुकै गठबन्धनले पनि रोक्न नसक्ने दावी समेत गरे । उनले काँग्रेस–माओवादीलाई ‘एक्लै चुनाव लड्ने हिम्मत छ ?’ भनेर प्रश्न समेत गरे ।

उपाध्यक्ष पौडेलले नेकपा एमाले यो गठबन्धनको सरकार सँग एक्लै लड्ने क्षमता राख्छ के गठबन्धनमा आबद्ध दलहरुमा एक्लै चुनाव लड्ने हिम्मत छ भने एक्ला एक्लै चुनावी मैदानमा उत्रिन समेत चेतावनी दिए ।