
स्थानीय निर्वाचनमा अध्यक्ष कमल थापाले एमालेसँग तालमेल हुनसक्ने बताएका छन् ।
सूर्य चिह्नलाई साझा बनाउने विषयमा छलफल भइरहेको राप्रपा नेपालले हिजो राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा थापाले बताएका हुन् । अहिलेको चुनावमा ठूलो महत्त्वाकांक्षा नबोकेको तर चुनाव जित्न र जिताउनका लागि एमालेसँग तालमेल हुने सम्भावना धेरै भएको उनले बताए ।
चुनावी तालमेलको विषयमा एमालेका शीर्ष नेतासँग बैठक बसेर निर्णय गर्ने उनले बताए । पार्टीका केही केन्द्रीय नेताले सूर्य चिह्नलाई साझा बनाएर निर्वाचनमा जाने विषयमा भने फरक मत राखेका छन् ।
चुनावमा एमालेसँगको सहकार्य र साझा चिह्न सूर्य लिन सकिने तर पार्टी स्थापना गर्न भने ‘तीर’ नै लिनुपर्ने केन्द्रीय सदस्य भूपेन्द्रप्रसाद पोख्रेलले बताए । ‘सूर्य चिह्न साझा बनाउनु आपत्ति होइन,’ उनले भने, ‘राप्रपा नेपालको चिह्नलाई जनतामाझ प्रचार गर्न पनि भुल्नु हुँदैन ।’
स्थानीय तह निर्वाचनका लागि घोषणापत्र र चुनाव चिह्न ‘तीर’ पनि साढे एक महिनाअघि गठन भएको राप्रपा नेपालले सार्वजनिक गरेको छ ।
