पूर्व मुख्यसचिव डा. विमलप्रसाद कोइरालाकाे नजरमा अहिले अर्थतन्त्र कुन अवस्थामा छ ?

२४ चैत्र २०७८, बिहीबार ०६:५०

पूर्व मुख्यसचिव डा. विमलप्रसाद कोइरालाले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि सरकार गम्भीर नभए श्रीलंकाजस्तो अवस्था आउनसक्नेतर्फ सचेत गराएका छन् । उनका अनुसार  विदेशी मुद्रामा चाप परेको छ । हुन त अहिले आँत्तिहाल्नुपर्ने अवस्था छैन् । सरकारले चनाखो भएर उपयुक्त कदम चाल्नुपर्छ । सुधार गर्नुको विकल्प छैन् । तर, हामीले होस पुर्याएनौं भने श्रीलंकाजस्तो अवस्था हुनसक्छ।’

बजेट घाटा बढ्दै गयो भने त्यसलाई पूर्ति गर्नको लागि आन्तरिक र बाहृय ऋण लिनुपर्ने हुनसक्ने उनी बताउँछन्  । उनले भने,‘बजेट घाटा बढ्यो भने गरिबी बढ्छ । सरकारले समग्र विकासमा असर पर्ने कुरामा खेलबाड गर्नुहुँदैन थियो । गएको एक वर्षदेखि यी वित्तिय समस्या देखा परेका थिए । कोभिड सुरु हुनासाथ आर्थिक मन्दी हुन्छ भनेका थियौं । आपूर्ति र वित्तिय व्यवस्था सबैमा कोभिडले धक्का दियो । महामन्दीजस्तै भयो । सरकार चनाखो हुन सकेन् ।’

अर्थतन्त्रमा खाली राजनीति राजनीति भनेर नहुने पनि उनको धारणा छ । उनले भने,‘अर्थतन्त्रको सुधारको लागि उपयुक्त कदम चाल्नुपर्छ । रेमिट्यान्सबाट विदेशी मुद्राको सञ्चिती पाउँछौं । वैदेशिक सहायता पनि हो । अर्को, पर्यटनपनि हो । वैदेशिक सहायतामा पनि संकुचन छ । यतातर्फ सरकारले ध्यान दिनुपर्छ ।’

उनले अहिले कस्ता वस्तु आयात भैरहेका छन् भन्नेतर्फ सरकारले ध्यान दिनुपर्ने सुनाए । उनले भने,‘हामीले यो कुरा हेर्नुपर्छ । अहिले अर्थतन्त्रलाई भार भयो। गलगाँड घाँटीमा आएको कुरा सरकारले देखेन । सरकारले सुधारात्मक उपाय अपनाउन सकेन । आर्थिक शासन व्यवस्था फेल भयो भने । जनताको जीवनस्तरमा सुधार ल्याउनुपर्छ । कमर्सियल लोन लिएका छौं । अर्थतन्त्रको उत्पादत्वकलाई ध्यान दिनुपर्छ ।’

अर्थतन्त्रको उत्पादकत्व बढाउनुपर्नेमा उनको जोड थियो । उनले भने,‘अहिले हामी महाधक्काको अवस्थाबाट गुज्रिरहेका छौं। अब खतराको घण्टी त बजिसकेको छ । अर्थतन्त्रमा जटिल अवस्था छ । यसलाई राम्रै उपचारको विधि खोज्नुपर्छ । सुधारको बाटोमा जानुपर्छ । घण्टी बजिसकेपछि चेतिनुपर्यो । यो सुल्झाउन सकिने समस्या हो । सरकारले क्षणिक राजनीतिक तुष्टिको निम्ति अर्थतन्त्रको दीर्घकालिन स्वास्थ्यलाई खेलबाड गर्नुभएन ।’

उनले वित्तिय स्थिरता र वित्त सन्तुलनले अर्थतन्त्र सुधारको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने,‘सरकारले कहिलेकाहीँ अलोकप्रिय निर्णय लिनुपर्छ । कटु आर्थिक यथार्थतलाई सम्बोधन गर्नको लागि अप्रिय विधि पनि अपनाउन सक्नुपर्छ । अहिलेको परिस्थितिमा घाँटी हेरेर हाड निल्नुपर्छ । सरकारले आम्दानी बढाउनुपर्छ ।’
अर्थतन्त्रको उत्पादकत्व बढाउँदै यथार्थपरक बजेटमा जाुनपर्नेमा उनको भनाई छ । उनले भने,‘राजश्वका स्रोत परिचालन गर्नुपर्छ । आफ्नै आम्दानीले आफ्नो खर्च गर्न सक्नुपर्छ, वित्तिय स्थिरतालाई ध्यान दिनुपर्छ । सरकारले खर्च गर्ने क्षमता वृद्धि गर्नुपर्छ । विकास र गभर्नेन्सको पाटो पनि छ । यसो गर्न सकियो भने सरकारप्रति जनता विश्वस्त हुन्छन् ।’

उनले शासनमा बसेकाहरुले भाषण गरेरमात्रै नहुने भन्दै त्यसको लागि कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने बताए । उनले भने,‘नेतृत्वमा बसेकाहरुले काम गरेर देखाउनुपर्छ । यो मौका हो । संकटले अवसर पनि दिन्छ । सरकारले अहिलेको समस्याको तत्काल उपचार खोज्नुपर्छ । चुनावको अंकगणितमा नअल्झिकन वित्तिय स्थिरताको लागि जनतालाई दिने कुरामा हिच्कियाउनु हुँदैन्, अनुत्पादक क्षेत्रमा गरेको लगानी काट्नुपर्छ ।’