काठमाडौँको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाहको मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन्। दिउँसो २ः३० बजे प्रधानमन्त्री देउवाले बन्दरगाह उद्घाटन गरेका हुन्।
वीरगञ्जबाट मालवस्तु बोकेर डिजिटल लकिङ लगाएर आइपुगेको कन्टेनरलाई बन्दरगाहमा स्वागत गरेर प्रधानमन्त्रीले देउवाले बन्दरगाह सञ्चालनमा आएको घोषणा गरे।
सरकारले हिमाल सिमेन्ट उद्योगको अलपत्र परेको जग्गालाई उपयोग गर्ने उद्देश्यका साथ २०७५ साल माघ ३ गते शिलान्यास गरी बन्दरगाह निर्माणको काम सुरु गरेको थियो।
बन्दरगाह निर्माणको लागि विश्व बैंकको १ अर्ब ६० करोड रुपैयाँ सहयोगमा ठेक्का सम्झौता गरिएको थियो। यसको निर्माणको जिम्मा आशिष र साक्षी जोइन्ट भेन्चरले पाएकोमा आशिष कन्स्ट्रक्सन नेपाली कम्पनी थियो भने साक्षी चिनियाँ कम्पनी रहेको थियो।
२२० रोपनी जग्गामा फैलिएको बन्दरगाहमा तीनवटा मुख्य गेट, भन्सार, क्यारेन्टिन र प्रशासनिक गरी तीनवटा भवन, तीनवटा गोदाम, तीनवटा सवारीसाधनको चेकजाँच गर्ने संरचना निर्माण गरिएको छ।
त्यसैगरी कन्टेनर यार्ड र पार्किङ यार्ड पनि छन्। उक्त पार्किङ यार्डमा पाँच सय कन्टेनर र पाँच सय सवारीसाधन अट्ने क्षमतामा निर्माण गरिएको छ।
अब काठमाडौँ भित्रिएका मालवाहक गाडीहरूकाे सीधैँ चोभार सुख्खा बन्दरगाहमा जाँचपास हुनेछ।
बन्दरगाहसम्म आउने कन्टेनरमा नाकाको भन्सारले सिल लगाइदिने र जीपीएस सिस्टम जडान गरेर पठाउँछ। यसरी सिल लगाएर र जीपीएस सिस्टम जडान गरेर पठाइएका कन्टेनरहरु सुख्खा बन्दरगाहमा आएपछि सिल र जीपीएस चेक गरेर मात्रै भन्सार पास हुन्छ।
