अर्थतन्त्र गम्भीर मोडमा, गाडी लगायत विलासी सामान आयातको एलसी रोक्न वाणिज्य बैंकहरूलाई निर्देशन

२२ चैत्र २०७८, मंगलवार ०७:१८

नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर आयात नियन्त्रण गर्ने गरी काम गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले उच्च आयातका कारण विदेशी सञ्चिति घट्ने क्रम नरोकिएपछि बैंकहरुलाई आयात नियन्त्रण हुनेगरी काम गर्न भनेको हो ।

पछिल्लो समयमा बैंक वित्तीय संस्थाहरुले प्रवाह गरेको अधिकासं कर्जा आयातमा प्रयोग भएको भन्दै अति आवश्यकीय वस्तुको आयात गर्नका लागि मात्र कर्जा दिन राष्ट्र बैंकका अधिकारीले बैंकका प्रमूख कार्यकारीलाई निर्देशन दिएको सहभागी एक प्रमुख कार्यकारी अधिकृतले बताए ।

“विदेशी विनिमय सञ्चितिमा आएको गिरावटले आगामी दिनमा समस्या पर्न सक्ने भन्दै विलासीका बस्तुहरुको आयातका लागि एलसी जारी नर्गन निर्देशन भएको छ,” ती प्रमूख कार्यकारी अधिकृत भने,“श्रीलङकाको जस्तो अवस्था नआओस भनेर अहिले नै सचेत हुनुपर्ने भन्दै विलासीताका वस्तुहरुको आयातका लागि एलसी जारी गर्न रोक्न राष्ट्र बैंकका अधिकारीहरुबाट निर्देशन आएको हो ।”

बैंकका प्रमुख कार्यकारीहरुसंगको छलफलमा नेपाल राष्ट्र बैंकका तर्फबाट सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, अनुसन्धान विभागका डा प्रकाश श्रेष्ठ र विदेशी विनिमय विभागका रामु पौडेल सहभागी थिए । राष्ट्र बैंकका विभागीय प्रमुखहरुले आफ्नो विभागसंग सम्बन्धित विषयहरुमा बैंकका प्रमूख कार्यकारीहरुलाई निर्देशन दिएका हुन ।

कर्जा निक्षेप अनुपातको सीमा ९० प्रतिशत भन्दा माथि पुगेको शोधनान्तर घाटा बढेको तथा विदेशी सन्चिती घटेको विषयमा छलफल भएको ती प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । राष्ट्र बैंकले अतिआवश्यकीय बस्तु बाहेक आयात रोक्न अनौपचारिक निर्देशन दिएको समेत उनको भनाइ छ ।