
स्थानीय निर्वाचनमा जाँदा तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्न पाँचदलीय गठबन्धनव लागेको छ । स्थानीय तह निर्वाचनमा तालमेल बारे सैध्दान्तिक निर्णय गरिसकेका गठबन्धनमा आवध्द दलका शीर्ष नेता थप रणनीति बनाउन बैठक बस्न लागेका छन् ।
तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्न कांग्रेसका सभापति प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि आज बैठक बस्ने भएको हो । गठबन्धनको एउटा घटक राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बैठकको मिति तय भए पनि समय तय हुन बाँकी रहेको बताइन् ।
१७ चैतमा निर्वाचनमा तालमेल गर्ने गठबन्धनले निर्णय गरेयता प्रदेशदेखि पालिकास्तरमै तालमेल र त्यसको मोडालिटीबारे छलफल शुरू भएको छ । तर,गठबन्धनको नेतृत्व दल कांग्रेसभित्रको एउटा खेमा असन्तुष्ट हुँदा केन्द्रीय निर्णय सबैतिर लागू हुन सकेको छैन ।
काँग्रेस नेता डा.शेखर कोइराला पक्षले एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिँदै तालमेल हुँदा माओवादीलाई मत माग्न नसकिने जनाएको छ । कांग्रेस संस्थापनइतर पक्षको नेतृत्व गरेका कोइराला पक्षबाट निरन्तर गठबन्धनविरोधी अभिव्यक्ति आएपछि माओवादीसहित अन्य घटक सन्तुष्ट छैनन् ।
नेता वर्षमान पुनले माओवादी–एमालेबीच तालमेलबारे छलफल भइरहेको बताइसकेका छन् । तैपनि गठबन्धनलाई थप मजबुत बनाएर लाने गठबन्धनका शीर्ष नेताहरूले बताउँदै आएका छन् ।
