प्रचण्डका घरबेटीसहित २४ ठेकेदारका ठेक्का अलपत्र, सडक विभागले माग्यो स्पष्टीकरण

२१ चैत्र २०७८, सोमबार ०७:१०

देशभर विभिन्न ठाउँमा सडक र पुल निर्माण अलपत्र पार्ने ठेकेदार कम्पनीसँग सडक विभागले स्पष्टीकरण मागेको छ।

२४ ठेकेदार कम्पनीसँग विभागले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन सोमबार सूचना जारी गरेको हो। एकभन्दा बढी ठेक्का लिएर काम अलपत्र पार्ने चार कम्पनी छन्।

सबैभन्दा बढी ठेक्का शैलुङ कन्स्ट्रक्सनले लिएको छ। सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदा अधिकारी सञ्‍चालक रहेको शैलुङले चारवटा ठेक्का अलपत्र पारेको छ। त्यतिमात्र नभई शैलुङकै साझेदारीमा सञ्‍चालित दिवा/शैलुङ जेभीले पनि ठेक्का अलपत्र पारेको सडक डिभिजन काठमाडौँले जनाएको छ।

दोस्रोमा रामशरण बुढाथोकीको वर्ल्डवाइड कन्स्ट्रक्सनले तीनवटा ठेक्का अलपत्र पारेको छ। वर्ल्डवाइडले संयुक्त लगानीमा सञ्‍चालन गरेका अन्य ठेक्काहरूसमेत अलपत्र छन्। बिरुवा कन्स्ट्रक्सनले र मौलिक कन्स्ट्रक्सनले पनि एकभन्दा बढी ठेक्का अलपत्र पारेको छ।

अन्य सात ठेकेदार कम्पनीले भने एउटा एउटा ठेक्का अलपत्र पारेको देखिन्छ।