मान–सम्मानका लागि पार्टी ध्वस्त पार्ने कम्युनिस्टहरूको संख्या ठूलो भयो : अध्यक्ष ओली

२० चैत्र २०७८, आईतवार १३:५६

मान–सम्मान नपुगे पार्टी ध्वस्त पार्न लागिपर्ने कम्युनिस्टहरूको संख्या ठूलो भएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

ओलीले आइतबार काठमाडौंमा आयोजित नेपााल बुद्धिजीवी परिषद्को राष्ट्रिय अधिवेशनमा बोल्दै नेपालमा तीन किसिमका कम्युनिस्टहरू रहेको बताए । “दार्शनिक धरातल भएका र त्यसलाई व्यवहारमा अपनाउने पहिलो वर्गका कम्युनिस्ट छन् । दोस्रो, प्रगतिशील धारका कम्युनिस्ट सैद्धान्तिक वैचारिक तहका कम्युनिस्ट हुन्,” उनले भने, “हामीकहाँ मान–सम्मान पुगेन भने पार्टी ध्वस्त पार्न तयार हुने कम्युनिस्ट पनि छन् ।”

उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै नाफा–नोक्सानको राजनीति गर्ने पनि राजनीतिज्ञ भएको बताए । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्यमा हिँड्ने, देशलाई माया गर्ने, राष्ट्रियता जोगाउने मानिस मात्र कम्युनिस्ट हुन सक्ने जिकिर गरे ।