
आसन्न स्थानीय तह निर्वाचन नजिकिदै गर्दा विभिन्न पार्टीका नेता कार्यकर्ताहरुले पार्टी परित्याग र पार्टी प्रवेशको क्रम चलिरहेको छ । यस्तै दैलेखको भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा फेरि एमालेमा फर्किन लागेका छन् ।
नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज समेत रहेका अध्यक्ष थापा नेकपा (एस) परित्याग गरेर नेकपा एमालमै फर्किन लागेका हुन् ।
‘केहि दिनमा प्रदेश राजधानीमा हुने एक कार्यक्रममा उहाँ एमालेमा फर्कने निश्चित भएको छ ।’ एमाले स्रोतले भन्यो, ‘उहाँ फर्किएपछि भगवतीमाई पालिकामा नेकपा एमालेको संगठन थप बलियो हुनेछ ।’
अध्यक्ष थापा एमालेमा फर्कने भएपछि एमालेका कार्यकर्ता उत्साहित भएका छन् । अध्यक्ष थापा मात्रै नभई सोही पालिकाका वडाअध्यक्षहरु समेत एमालेमा फर्कने भएका हुन ।
‘अध्यक्ष ज्यूले सुरुमा पनि समाजवादीमा नजाने योजना बनाउनु भएको थियो । विविध कारणले उहाँ उता सनाखत गर्न पुग्नु भएको हो ।’ अध्यक्ष थापा निकट स्रोत भन्छ, ‘समाजवादीमा गएपनि उहाँ कुनैपनि कार्यक्रममा सहभागि हुनु भएको छैन । उहाँ एमालेमा फर्कने निश्चित भइसकेको छ तर कति फर्कने भन्ने बारेमा भने सल्लाह भइसकेको छैन ।’
अध्यक्ष थापा २०७४ सालको निर्वाचनमा एमालेबाट उम्मेदवार भइ निर्वाचित भएका थिए । नेकपा एस समाजवादीमा सनाखत गरेका दैलेखको भगवतिमाई गाउँपालिकाका केही वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यसहित एमालेमा आज फर्किने भएका छन् ।
