अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता र ढंग नभएका कारण एमालेको सरकार आवश्यक रहेकोछ : अध्यक्ष ओली

१७ चैत्र २०७८, बिहीबार १६:४४

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन् गर्न एमालेको सरकार आवश्यक रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

दैलेखेको दुल्लुमा विकास र समृद्धिको वास्तविक पहरेदार एमाले नै भएको जुम्लाको सिंजा तथा कालीकोटको मान्ममा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दे ओलीले बताएका छन्।

जुम्लाको सिंजा राज्य र दुल्लुको अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै अध्यक्ष ओलीले समग्र देशको विकास गर्न एमालेको नेतृत्व आवश्यक रहेको बताएका हुन् ।

‘अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएका कारण आफ्नो सरकारको पालामा अघि बढाइएका विकासे आयोजना कटौती गरिएको छ’, ओलीले भने, ‘हामीले ग्रामीण भेगको विकासका लागि १४ सय सडकहरू शिलान्यास गरेको थियौं । एक पालिका एक अस्पतालको अभियान सुरु गरेका थियौं । ती सबै अहिले बन्द गरिए ।’

अहिलेको सरकारले काटेका आयोजना निर्माणका लागि एमालेको सरकार आवश्यक रहेकोमा ओलीको जोड थियो ।
‘ढंग नभएर, क्षमता नभएर, काम गर्ने सामर्थ्य नभएर कतिपय आयोजनाहरू काटेको छ, चुनावपछि एमालेले अहिलेको सरकारले काटेका विकासे योजनालाई अघि बढाउँछ, स्थानीय तहका मुकामसम्म पुग्ने सडक कालोपत्रे गर्छ ’,ओलीले भने ।

देशको रक्षा, विकास र सुशासनका लागि एमालेबाहेकले अघि बढाउन नसकिने उनको दाबी थियो ।