
सत्तारूढ गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो सहमति निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
बैठकपछि मन्त्री कार्कीले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, “स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलबीच तालमेल गर्ने सहमति भएको छ।”
कुन क्षेत्रमा कसरी सहमति गर्ने भन्ने विषयमा गठबन्धनले संयन्त्र बनाउने निर्णय गरेको छ। यसका लागि सबै दलका प्रदेश प्रमुख रहेको प्रदेश स्तरीय संयन्त्र बन्ने भएको छ। त्यस्तै, स्थानीय तहमा पनि सबै दलका प्रमुख रहेको संयन्त्र निर्माण हुनेछ।
गठबन्धन प्रदेश र स्थानीय तहको संयन्त्रलाई २२ चैतसम्म रिपोर्ट बुझाउन समय दिइएको छ। रिपोर्टका आधारमा कुन ठाउँमा कस्तो तालमेल गर्ने भन्ने निर्णय गरिने कार्कीले बताए।
