कांग्रेसले गठबन्धन गर्ने निर्णय गरेपछि प्रचण्डले भरतपुरको मेयर दाबी गरे

१७ चैत्र २०७८, बिहीबार ११:४४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रमा कांग्रेसले गठबन्धन गरेर जाने निर्णय गरेपछि चितवनस्थित भरतपुर महानगरपालिकाको मेयर दाबी गरेका छन् ।

मंगलबार स्थानीय तहमा गठबन्धन गरेर जाने कांग्रेसले निर्णय गरेसँगै प्रचण्डले भरतपुर महानगरपालिको मेयर दाबी गरेका हुन् । गत २०७४ सालको निर्वाचनमा कांग्रेसको मतले निर्वाचित भएकी आफ्नी छोरी रेणु दाहाललाई नै प्रचण्डले मेयर दाबी गरेका हुन् ।

महानगरपालिकाहरुमा तालमेलको निर्णय हुने दाबी गर्दै भरपुर महानगरपालिकामा माओवादीको दाबी बुधबार चितवन पुगेका प्रचण्डले बिहीबार बस्ने गठबन्धनको बैठकबाट प्रस्तुत गरेका छन् ।

अध्यक्ष प्रचण्डले महानगरपालिका र उपमहानगरपालिकामा गठबन्धन गर्ने निर्णय केन्द्रबाटै हुने बताउँदै आएका छन् । ‘महानगर र उपमहानगरलाई सकेसम्म केन्द्रबाट नै तालमेल गर्ने भनेर छलफल चलिरहेको छ, गठबन्धनको बैठक बस्दैछ, सम्भवतः महानगरपालिकाको बारेमा केही न केही निर्णयमा हामी पुग्छौं, तालमेलकै निर्णय हुन्छ,’ अध्यक्ष प्रचण्डले भनेका छन् ।

आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा देशभरका स्थानीय तहमा कांग्रेससँग माओवादी र नेकपा एस पार्टीले गठबन्धन गरेर जाँदैछन् । बुधबार चितवन पुगेका प्रचण्डले भरतपुरको मेयरमा आफ्नो पार्टीको दाबी रहने बताएका थिए । भरतपुरमा यसअघिको स्थानीय तल निर्वाचनमा पनि कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।

त्यहाँबाट प्रचण्ड पुत्री रेणु नै मेयरमा निर्वाचित भएकी थिइन् । प्रचण्डले कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरिसकेपछि गठबन्धनका बीचमा आवश्यकता अनुसार तालमेल हुने पक्का भएको दाबी गर्दै कांग्रेससँगको सहकार्य नटुट्ने बताएका थिए ।

‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरिसकेपछि गठबन्धनका बीचमा आवश्यकता अनुसार तालमेल हुन्छ भन्ने कुरा क्लियर भएकै छ, खाली तालमेल, गठबन्धन कस्तो हुन्छ भन्ने थियो, हाम्रो पार्टीले आफ्नो शक्तिलाई सुदृढ गर्ने र आवश्यकताअनुसार तालमेल पनि गर्ने कुरा गरेकाले आवश्यक तालमेलसहित चुनाव हुन्छ,’ बुधबार प्रचण्डले भनेका थिए ।

प्रचण्डले गठबन्धन नभए पनि एक्लै निर्वाचनमा भाग लिने भन्दै आएका बेला कांग्रेसले गठबन्धन गर्ने निर्णय गरेपछि उत्साही हुँदै प्रचण्डले भरतपुरको मेयर दाबी गरेका थिए ।