गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीलाई अध्यक्ष प्रचण्डले बधाई तथा शुभकामना दिदै यस्तो भने

१५ चैत्र २०७८, मंगलवार १९:०५

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीसँग भेट गरेका छन् । गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीलाई अध्यक्ष प्रचण्डले बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

उक्त भेटको अवसरमा चैतको १२ र १३ गते सम्पन्न विश्व सम्मलेलनले लिएका प्रतिवद्धताबारे छलफल भएको थियो । अध्यक्ष प्रचण्डले नेपालको विकासमा विश्वका विभिन्न देशहरुमा छरिएर रहेका नेपालीहरुको भूमिका महत्वपूर्ण रहँदै आएको बताए।

उनले गैरआवासीय नेपाली संघ एकजुट भएकोमा आफू एकदम खुसी भएको बताए। अध्यक्षले भने, ‘यो एनआएनएको होइन, यो नेपाली जनताको एकतालाई तपाईहरुले दिएको सन्देश हो । अप्ठ्यारोको बीचबाट पनि नेपालीहरुले बाटो पहिल्याउन सक्छन् भन्ने एकता र क्षमताको सन्देश छ यसमा। नेपालीहरुले अप्ठ्यारोको बीचमा पनि नेतृत्व क्षमता राख्छन् भन्ने सन्देश यसमा छ ।’

सो अवसरमा गैरआवासीय नेपाली संघको तर्फबाट केही निष्कर्ष र योजनाहरु कार्यान्वयनका लागि सहयोग र समन्वय गर्न प्रस्ताव पेस गरिएको थियो । अध्यक्ष प्रचण्डले खादा ओढाएर नवनिर्वाचित पदाधिकारीहरुको टोलीलाई बधाई ज्ञापन गरेका थिए ।