लाहाचोक सबस्टेसनकाे उद्घाटन

१५ चैत्र २०७८, मंगलवार ०८:११

नयाँ मोदी (पर्वत)–लेखनाथ (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना अन्तर्गत लाहाचोक सबस्टेसन उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार आयोजना अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ मा निर्माण गरिएको १३२ लाहाचोक सबस्टेसन उद्घाटन गरेकी हुन।

सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, ८ एमभिएका पावर ट्रान्सफर्मरहरु रहेका छन् । सबस्टेसनमा स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ३३ केभीका एकवटा लाइन बे र चारवटा ११ केभीका फिडरहरु रहेका छन् ।

नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना अन्र्तगत पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा रहेको सबस्टेसनबाट लाहाचोकसम्मको १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । नयाँ मोदी १३२ केभी स्वीचिङ स्टेसनमार्फत मोदी जलविद्युत केन्द्र हुँदै लाहाचोक सबस्टेसन राष्ट्रिय ग्रिडमा जोडिएको छ । साथै सबस्टेसनबाट हेम्जा ३३÷११ केभी सबस्टेसन पनि जोडिने छ ।

लाहाचोक सबस्टेसनबाट कास्कीको माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिकामा विद्युत आपूर्ति दिइएको छ । यसवाट त्यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय र भरपर्दो भएको छ । पोखरावाट त्यस क्षेत्रमा विद्युत आपूर्तिको लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या थियो । अब लाहाचोक सबस्टेशनवाट आपूर्ति दिँदा त्यस क्षेत्रको विद्युत सेवा सुधार भई उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत पाएका छन् । विद्युतको प्राविधिक चुहावट समेत घटेको छ ।

पर्वत, कास्कीलगायतका जिल्लाको विद्युत आपूर्ति सुधार गर्न र मोदी, सेती,मादी तथा सर्दी नदीमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना निर्माण सुरु गरिएको हो । कुल अनुमानित लागत २ अर्ब २४ करोड रुपैयाँ रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र आयात निर्यात (एक्जिम) बैक भारतको सहुलियतपूर्ण ऋण रहेको छ ।