कांग्रेसले चुनावमा गठबन्धनको विषयमा आज औपचारिक के निर्णय गर्दैछ ?

१४ चैत्र २०७८, सोमबार ११:३९

नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा आज औपचारिक निर्णय गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय समितिको तेस्रो दिन आज बस्ने बैठकमा चुनावमा टिकट बाँड्ने संसदीय बोर्ड गठन लगायत विषयमा छलफल गर्न स्रोतले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजेपछि बस्ने जानकारी दिए ।

आइतवार बसेको बैठकमा बहुसंख्यक केन्द्रीय सदस्यहरूले पार्टीलाई फाइदा हुनेगरी चुनावी तालमेल गर्नुपर्ने सुझाव राखेका थिए ।कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले धेरै सिट जित्नका लागि ‘आवश्यकताको सिद्धान्त’ अनुसार चुनावमा तालमेल गरिने बताएका छन् ।

बाँकी सदस्यहरूले बोल्ने क्रम सकिएपछि सोमवार नै चुनावी तालमेल र यसको मोडालिटीबारे छलफल हुने कांग्रेस नेताहरूको भनाइ छ ।