अर्थमन्त्री जनार्दन शर्मालाई हटाउन प्रधानमन्त्रीलाई दबाब

१४ चैत्र २०७८, सोमबार ०६:५५

अर्थमन्त्री जनार्दन शर्मालाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब पर्न थालेको छ ।

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस भित्रबाटै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएसँगै दबाब बढेको हो ।

कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेहीले व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएकोले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् ।

पार्टी बैठकमै उनलेे यस्तो माग गर्दा अरूले पनि उनलाई साथ दिएको बुझिएको छ । कांग्रेसकाे शुक्रबार पहिलो दिन पनि मुलुकको अर्थतन्त्र ओरालो लाग्दै गरेको र तत्काल ‘सुधारको कदम’ आवश्यक रहेको प्रसंगले बैठकमा प्रवेश पाएको थियो ।

केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखरेलले भने पार्टीकै नेतृत्वमा सरकार हुँदा अर्थतन्त्र अप्ठ्यारोमा परेको भन्दै प्रधानमन्त्रीसमेत रहेका सभाति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए । अर्थमन्त्री हटाउन चर्को दबाब परेपनि प्रधानमन्त्रीले केही बाेलेका छैनन् ।