गुटउपगुटलाई मिलाएर जाने हो भने गठबन्धन चाइदैन : शेखर कोइराला

१२ चैत्र २०७८, शनिबार १५:५९

चुनावी गठबन्धनलाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच जुहारी चलेको छ ।

कोइरालाले गुटउपगुटलाई मिलाएर जाने हो भने गठबन्धन आवश्यक नभएको शनिबार काठमाडौंमा आयोजित कार्यक्रमा बताएका थिए। उक्त कार्यक्रममा दुवै नेता एउटै मञ्चमा उपस्थित थिए । गठबन्धन गरिरहने हो भने कांग्रेसको हालत पनि भारतको कांग्रेस आईको जस्तो हुन्छ कि भन्ने चिन्ता लागेको उनले बताएका छन् ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले भने एमाले र माओवादी मिल्दा स्वयं शेखर कोइरालाले चुनाव हारेको स्मरण गरे । ‘एमाले र माओवादी फुटे, हामी जितिहाल्यौं भन्दा फेरि मिलिदिए भने नि ?’ उनले अघि भने, ‘उहाँहरु मिल्ने सम्भावना घटेको छैन । मिल्न दिने भए दिऔं के भयो र ’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हार्ने चुनाव नलड्ने भन्दै उनले भने, ‘जहाँ सजिलो हुन्छ, त्यही मिलिदिन्छ । त्यो पनि बुझ्नुपर्‍यो नि ’

कांग्रेसमा हिजो पनि गुट रहेको र आज पनि गुटमुक्त नहुने भन्दै देउवाले स्थानीय चुनाव सजिलो नभएको बताए । कांग्रेसले भन्दा धेरै एमाले र माओवादीले जितेको भन्दै उनले कमसेकम त्यहाँ मिलेर लड्नुपर्ने बताएका छन् । उनले अघि भने, ‘ओली कमजोर छ भन्नु झुटा हो । ओलीजीको पार्टी धेरै बलियो छ । ’

गठबन्धनको पक्षमा उभिँदै आएका देउवाले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने दलहरुलाई गेटआउट भन्न समिल्ने समेत बताए ।