जसले जे भनेपनि तीनै तहको चुनावमा तालमेल हुन्छ : प्रधानमन्त्री देउवा

१० चैत्र २०७८, बिहीबार १७:०७

स्थानीय तहदेखि केन्द्रको चुनावसम्म सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेल हुने नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

लोकतन्त्र बचाउन गठबन्धनका दलहरूको भूमिका रहेको भन्दै उनले माओवादी र नेकपा एसलाई पनि उचित स्थान दिइने बताए । सभापति देउवाले चुनावी तालमेलको पक्षमा बिहीवार तनहुँमा कांग्रेसको जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका हुन् ।

देउवाले सत्ता गठबन्धनका दलहरूबीच प्रतिनिधि सभाको चुनावसम्म तालमेल हुने तर कांग्रेसकै कतिपय नेताहरूले तालमेलको विरोध गरिरहेको बताएका हुन् । ‘स्थानीय तहको चुनावमा मात्र नभई प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा पनि तालमेल हुन्छ, उहाँहरूलाई पनि उचित स्थान दिनुपर्छ,’ देउवाले भने ।

आज नै प्रधानमन्त्री पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा.आरजु देउवाले पनि तीनै तहको चुनावमा तालमेल हुने बताएकी थिइन् ।चुनावमा तालमेल गर्ने या नगर्ने लगायतका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक भोलि बस्दैछ ।