राष्ट्रिय योजना आयोगलाई एकीकृत शहरी विकास कार्यक्रमका लागि थप बजेट छुट्याउन शहरी विकास मन्त्री रामकुमारी झाक्रीले आग्रह गरेकी छन्।
उनले एकीकृत शहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा रहेको बताउदै यस कार्यक्रमको लागि थप बजेट आवश्यक रहेको बताएकी हुन्।
मन्त्री झाक्रीले मन्त्रालयले केही नयाँ कार्यक्रमका लागि बिहिबार मन्त्रालयमा आयोजित सघन शहरी विकास कार्यक्रमको निरन्तरता सम्बन्धी छलफललाई सम्बोधन गर्दै बजेटको पहल गरिरहेको बताइन्।
‘एकीकृत शहरी विकास कार्यक्रम नयाँ हो। यसलाई बजेटमार्फत् यस वर्षको कार्यक्रम र बजेटमा समावेश गरेर अघि बढौं,’ उनले भनिन्।
उनले मन्त्रालयले बनाउन लागेको युटिलिटी कोरिडोर ऐनको मस्यौदा अन्तिम चरण पुगेको बताउँदै मन्त्रालयले नयाँ कार्यक्रमको बारे ल्याउने विषयमा गृहकार्य गरिरहेको जानकारी दिइन्।
मन्त्रालयले शहरी सौन्दर्य बढाउने खालका कार्यक्रम अघि बढाउनुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वराज पौडेलले बताए। मन्त्रालयले अघि सारेको योजनाको बारेमा आफू सकारात्मक रहेको बताउँदै पौडेलले शहरी क्षेत्रको सुन्दरता बढाउन पार्क, कृत्रिम ताल लगायतका कार्यक्रमका लागि आयोग बजेट छुट्याउन तयार रहेको बताए।
‘मन्त्रालयले शहरीकरणमा थुप्रै राम्रा काम गरिरहेको छ। अब हाम्रा शहरहरुको सौन्दर्य बढाउन पनि पहल गर्नुपर्छ,’ उनले भने।
कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले आगामी बजेटमा मेगा सिटी निर्माणका लागि बजेट थप्नुपर्ने बताए।
