
आगामी चुनाव जित्न १८ आधार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघि सारेका छन् । अध्यक्ष ओलीले जीतका पर्याप्त आधार भएको जारी केन्द्रीय कमिटी बैठकमा प्रतिवेदन पेश गर्दै उल्लेख गरेका छन् ।
‘यावत घेराबन्दी आक्रमण र दुष्प्रचारका बीचमा पनि हाम्रो पार्टी प्रतिको जनविश्वास अखण्डित र अक्षुण रहनु एवं यस्तो जनविश्वास दिनप्रतिदिन बढ्दै जानु नै त्यो मुख्य आधार हो, जसले नेकपा (एमाले) को जीतलाई सुनिश्चित गर्नेछ’, ओलीले पहिलो आधार बनाएका छन् । उनले पाँच दलीय गठबन्धनका कारण नेकपा (एमाले) लाई अप्ठ्यारो पर्छ भन्ने मनोवैज्ञानिक प्रभाव पार्न खोजिएको भएपनि ‘हामी स्पष्ट हुनुपर्छ गठबन्धन या मोर्चा सामर्थ्यको प्रतीक होइन, कमजोरीको द्योतक हो’ उनले भनेका छन् ।
उनले भनेका छन्, ‘बैसाखीको सहारा त्यसलाई मात्र चाहिन्छ, जसका खुट्टा कमजोर छन् । त्यसैले गठबन्धनको यो मनोवैज्ञानिक भ्रम या भयबाट मुक्त हुनु जरूरी छ । गत निर्वाचनमा पनि हामीले काङ्ग्रेस–माओवादी गठबन्धनसँगै लडेर स्थानीय तह निर्वाचनमा एक्लै ४२ प्रतिशत स्थानमा विजय हासिल गरेका थियौं । निर्वाचनमा नेकपा (एमाले) को विजयका आधार सुदृढ छन्, जसलाई सम्प्रेषित गर्दै निर्वाचनमा सफलताको आत्मविश्वास स्थापित गर्न जरूरी छ ।’
पार्टीका सही सिद्धान्त, कार्यदिशा, नीति र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा, राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा खेलेको प्रभावकारी भूमिका, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिवृद्धिका लागि गरेको असाधारण योगदान तथा केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्दा विकास र समृद्धिका क्षेत्रमा खेलेको महत्वपूर्ण भूमिका, प्राप्त गरेका उपलब्धि र तिनले समाजमा ल्याएको विषयलाई चुनाव जित्ने आधार भएको उनले बताएका छन् ।
