ट्राफिक नियम अटेरी गर्नेलाई त निर्ममतापूर्वक कारबाही गर्नैपर्छ : मन्त्री झाँक्री

९ चैत्र २०७८, बुधबार १५:५६

ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बताएकी छिन्। मन्त्री झाक्रीले ट्राफिक नियम उल्लंघनका कारण सर्वसाधारणले हैरानी खेप्नु परेको बताउँदै नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएकी हुन्।

‘हाम्रो संस्कृतिमा कारबाही नै ठूलो कुरा रहेछ । एक जनाले नियम उल्लंघन गर्दा धेरैको समय र पैसाको नोक्सानी हुन्छ । यसको चेन इफेक्ट थुप्रैलाई परेको हुन्छ । ट्राफिक नियम अटेरी गर्नेलाई त निर्ममतापूर्वक कारबाही गर्नैपर्छ । यसबाट राजश्व पनि उत्पन्न हुन्छ र मान्छेको बानी पनि पर्छ । मन्त्री झाक्रीले भनिन्’

मंगलबार राजधानीमा ट्राफिक प्रहरीलाई प्राविधिक उपकरण हस्तान्तरण गर्दै मन्त्री झाँक्रीले ट्राफिक अनुशासन महत्वपूर्ण रहेको बताइन्। मन्त्री झाँक्रीको निर्देशनमा काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत २० थान ह्वील लक र ८८ थान ट्राफिक लाइट प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले धोबीखोला कोरिडोरलाई व्यवस्थित गरेर सवारी आवागमनमा प्राधिकरणले सहजीकरणको प्रयास गरिरहेको बताइन्।

यस्तै ट्राफिक प्रहरी महाशाखा प्रमुख उमेशराज जोशीले ट्राफिक नियम उल्लंघन गर्नेको संख्या बढ्दै गएको बताए। पहिले सदर ८ देखि १० लाख दैनिक राजश्व संकलन हुने गरेकोमा हाल १८ लाखसम्म संकलन भइरहेको बताउँदै मन्त्रालयमार्फत प्राप्त थप उपकरणले यो अनुपात बढ्ने उनले बताए।

कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, काठमाडौं उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त नारायण प्रसाद भण्डारी लगायतको उपस्थिति थियो ।