लोकसेवा आयोगले के कारण बढुवा समितिसँग जवाफ माग्यो?

९ चैत्र २०७८, बुधबार ११:४९

अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेकोबारे लोकसेवाले नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई जवाफ मागेको छ ।

आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले बढुवा सिफारिस गर्ने निर्णय बिरुद्ध परेको उजुरी सुनुवाइका लागी बढुवा समितिसँग जवाफ मागिएको बताए । ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र घनश्याम अर्यालले बढुवा निर्णयविरुद्ध डीआइजी आयोगमा उजुरी दिएका थिए ।

चैत १ मा गृहमन्त्रालयका सचिव टेकनाराण पाण्डे नेतृत्वको बढुवा समितिले धीरजप्रताप सिंह, वसन्त पन्त र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सिफारिसमा परेका अधिकृत आफुहरुभन्दा जुनियर रहेको भन्दै उजुरीकर्ताले उक्त निर्णय बदर गर्न माग गरेका छन् ।

बढुवा समितिबाट जवाफ आएपछि उजुरी सुनुवाई समितिको बैठक बसेर त्यसबारे निर्णय गरिने लोकसेवा आयोगका अध्यक्ष रेग्मीले बताए । उनले भने–‘जवाफ आएपछि निर्णय लिन्छौं ।’ बढुवा सिफारिसमा छुटाइएका अर्याल मेरिट लिस्टको एक नम्बरमा थिए । उनी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन् । अर्याल आईजीपी क्षेत्रीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् ।