पुनर्कर्जा कार्यविधी संशोधन, ब्याज कति बढ्यो ?

९ चैत्र २०७८, बुधबार ०७:५२


नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई दिने पुनर्कर्जाको ब्याजदर वृद्धि गरेको छ। संशोधित पुनर्कर्जा कार्यविधी अनुसार अब बैंकहरुले पुनर्कर्जा वापत ऋणीहरुसँग ७ प्रतिशतसम्म ब्याज लिनेछन्।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा मार्फत पुनर्कर्जाको ब्याजदर २ प्रतिशत बढाउने घोषणा गरेको थियो। सोही अनुसार पुनर्कर्जा कार्यविधि संशोधन गर्दै नयाँ ब्याजदर लागू गरेको हो।

राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यममा जाने पुनर्कर्जाका लागि बैंकहरुलाई ४ प्रतिशत ब्याजमा श्रोत उपलब्ध गराउनेछ भने बैंक तथा वित्तिय संस्थाहरुले ७ प्रतिशत ब्याजमा लगानी गर्नेछन्।

राष्ट्र बैंकले बिशेष पुनर्कर्जाका लागि बैंकहरुलाई २ प्रतिशत ब्याजमा श्रोत उपलब्ध गराउनेछ भने बैंकहरुले ५ प्रतिशतमा लगानी गर्नेछन्।

साधारण पुनर्कर्जाका लागि भने राष्ट्र बैंकले ५ प्रतिशतमा श्रोत उपलब्ध गराउनेछ र बैंकहरुले ७ प्रतिशत ब्याजमा लगानी गर्ने छन्।