
मन्त्रीमण्डल पुनर्गठन हुदा अर्थमन्त्री जनार्दन शर्मा पनि फेरिन सक्ने हल्ला चलेपछि सेयर बजारमा सुधार आएको छ ।
सत्ता गठवन्धनका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही मन्त्री फेर्ने बताएका छन् ।
देशको अर्थतन्त्र संकटतर्फ जाँदा पनि यसलाई रोक्न पर्याप्त प्रयास नगरेको आरोप अर्थमन्त्री शर्मालाई लाग्दै आएको छ । अर्थतन्त्र सुधारमा खासै चासो नदेखाएपछि अहिले शर्माको आलोचना भइरहेको छ ।
अर्थमन्त्री फेरिने संभावना बढेपछि मंगलबार सेयर बजार १६ अंकले बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६५०.७० अंकमा पुगेको छ । बजार बढाउन १०६ कम्पनीको महत्वपूर्ण भुमिका रहेको छ ।
७७ कम्पनीको सेयर मूल्य घटेको छ । मंगलबार इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य सर्किट लेभल अर्थात ९.९ प्रतिशतले बढेको छ । यस्तै राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको पनि सेयर मूल्य ६ प्रतिशत माथि बढेको छ ।
मंगलबार २ अर्ब ५१ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार प्रभु इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर सबैभन्दा बढी कारोबार भएको छ ।
प्रभु इन्स्योरेन्सको सेयर प्रतिकित्ता ४५१ मा १५ करोड ३३ लाख ४० हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नेपाल टेलिकमको १० करोड ७१ लाख ९६ हजार रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
