एकै महिनामा २२ उद्योग दर्ता, १६ सय राेजगारी पाउने

७ चैत्र २०७८, सोमबार ०८:०३

उद्योग विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा साना ठूला र मझौला गरी २२ वटा उद्योग दर्ता भएका छन् । जसबाट १६ सय २७ जनाले रोजगारी पाउने भएका हुन् ।

विभागका अनुसार चालु आर्थिक वर्षको सात महिनामा १५७ वटा उद्योग दर्ता हुँदा १३ हजार भन्दा बढीले रोजगारी पाउने भएका थिए । त्यस्तै, फागुन महिनामा २२ अर्ब ८९ करोड २५ लाख रुपैयाँ लगानीमा २२ उद्योग दर्ता भएसँगै उक्त सङख्यामा रोजगारी पाउने भएका हुन् ।

दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै उद्योग काठमाडौंमा रहेका छन् । काठमाडौंमा फागुन महिनामा ६ वटा उद्योग दर्ता भएका छन् । जसमा एचटिटि पुल नेपाल प्राली, नेपाल सेक्रेटरिएट अफ स्कील्स एण्ड टे«निङ र जे एफ सी नेपाल प्रालि रहेका छन् ।

त्यस्तै सोही अवधिमा काठमाडौंमा दर्ता भएका उद्योगमा नेपाल सिचुवान जुन्सु कन्ट्रक्सन प्रालि, साउथ एसिया इन्टरनेट टेक्नोलोजी कम्पनी र दि मेट्रोपोलिटन होटल प्रालि रहेका छन् । जसबाट ३२७ जनाले रोजगारी पाउने भएका छन् । त्यस्तै, रुपन्देहीमा अपुर्व गेमिङ जोन प्रालि र क्लासिक फुड इन्टष्ट्रिज प्रालि दर्ता हुँदा १६५ जनाले रोजगारी पाउने भएका छन् ।

विभागका अनुसार पाल्पामा सत्यवती दर्शन प्रालिमा ६८ जनाले रोजगारी पाउने भएका छन् भने भक्तपुरमा दर्ता भएको चुम्बकीय प्रविधिबाट विद्युत्त उत्पादन गर्ने कम्पनीबाट १५ जनाले रोजगारी पाउने भएका छन् । यस अवधिमा दर्ता भएका उद्योग मध्ये सबैभन्दा बढी रोजगारी दिने कम्पनीमा कास्कीमा दर्ता भएको फेवा कन्ट्रक्सन रहेको छ । उक्त उद्योगबाट ५ सय जनाले रोजगारी पाउने भएका छन् ।

त्यसैगरी ललितपुरमा यस डि यस सफ्टवेयर डेभलपमेन्ट नेपाल प्रालि कम्पनी दर्ता हुँदा रोजगारी पाउनेको संख्या ५८ रहेको छ । नवलपरासीमा गौतम बुद्ध केवल इन्डष्ट्रिज प्रालि दर्ता हुँदा ५१ जनाले रोजगारी पाउने भएका छन् । त्यस्तै ताप्लेजुङमा दर्ता भएका दुई कम्पनीमा ६३ जनाले रोजगारी पाउने भएका छन् । यस अवधिमा ताप्लेजुङमा दर्ता भएका उद्योगमा सूर्य होल्डिङ प्रालि र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (माथिल्लो काबेली जलविद्युत्त आयोजना) रहेका छन् ।

विभागका अनुसार पर्सामा दर्ता भएका मोर नेचुरल फुड्स प्रालि र नमस्ते फ्लोर मिल प्रालिबाट १४८ जनाले रोजगारी पाउने भएका छन् । त्यस्तै, बारामा सगरमाथा आल्मुनियम इण्डष्ट्रिज प्रालि र स्यार्सेकाली ट्रेड एण्ड मल्टीसर्भिसेज प्रालि उद्योग दर्ता भएसँगै १७२ जनाले रोजगारी पाउने तथ्याङकमा उल्लेख छ ।

विभागका अनुसार सोही महिनामा दर्ता भएका अन्य उद्योगहरुबाट रोजगारी पाउनेमा गोर्खामा दर्ता भएको बुढीगण्डकी हाइड्रोपावर प्रालिमा २३ जना, रुकुमको स्यार्पु पावर कम्पनीमा २७ जना र कपिलवस्तुमा दर्ता भएको पोजेटिभ इनर्जी प्रालिमा १० जना रहेका छन् ।