सार्वजनिक यातायातको भाडा समायोजन गर्न माग

६ चैत्र २०७८, आईतवार ०७:४२

सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढेको भन्दै तत्काल यातायात भाडा समायोजन गर्न माग गरेको छ। महासंघले  भाडा समायोजन नगरे  आन्दोलनमा उत्रने बताएको हो।

सरकारले गत असार २८ गते सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो। भाडा समायोजनयता डिजेलको मूल्यमा प्रतिलिटर रु २६ र पेट्रोलको मूल्य प्रतिलिटर रु ३९ वृद्धि भएको छ। महासंघले पेट्रोलियम पदार्थमा प्रतिलिटर पाँच रुपैयाँ घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने अवस्था भए पनि इन्धनको मूल्यमा उच्चवृद्धि हुँदासमेत सरकारले भाडा समायोजन गर्न चासो नदेखाएपछि आन्दोलित हुनुपरेको जनाएको छ।

महँगोमा इन्धन खरिद गरेर घाटामा सेवा दिँदा यातायात व्यवसायीले ठूलो आर्थिक नोक्सानी व्यहोरेको महासंघका महासचिव भरत नेपालले बताए। नेपाल आयल निगमले पटकपटक  पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै आएको छ ।

यातायात क्षेत्रको सुधारका लागि महासङ्घले दिएको सुझावको सरकारले बेवास्ता गरेको उनले बताए ।