बैंकको ब्याजदर नियन्त्रणमा अर्थ मन्त्रालयकाे चासो, मन्त्री शर्मा भन्छन्– छलफल अघि बढ्यो

४ चैत्र २०७८, शुक्रबार १५:४२


अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल थालेको बताएका छन्।

ललितपुर उद्योग वाणिज्य संघको ५५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले व्यवसायीको मागअनुसार ब्याजदर निर्धारणका लागि आफूले पहल थालिरहेको बताए।

‘बैंकले आफूखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ। अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सीमा निर्धारण भई व्यवसायीअनुकूल हुनुपर्छ भनेर छलफल थालेको छु’, उनले भने, ‘राष्ट्र बैंकलाई उत्पादनमूलक क्षेत्रको कर्जाको बेसरेट २ प्रतिशत भन्दा बढी राख्नुहुँदैन पनि भनेको छु।’

उनले चाँडै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग थप छलफल गरी मध्यममार्गी बाटो अपनाई समस्या समाधान गर्ने विश्वास दिलाए।

त्यस्तै उनले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य शृङ्खलाका कारण मुलुकको शोधानान्तर स्थिति चिन्ताजनक अवस्थामा पुगेको बताउँदै विस्तारै सुधार भइरहेको बताए।

‘शोधनान्तर स्थितिमा सुधार हुँदै छ। हामी तरलता समस्या समाधान गर्ने दिशामा पनि अघि बढेका छौँ’, उनले भने।

उनले ४७ वस्तुको आयातमा मार्जिन लगाएपछि कुल आयात घट्न थालेको र यसले अर्थतन्त्रमा सुधार आउने जानकारी दिए।