
तीनै तहको चुनावका लागि सत्ता गठबनधनका दलबीचमा चुनावी तालमेलको भद्र सहमति भएको छ । चुनावी तालमेलबारे भद्र सहमति बनाएर तयारी समेत थालिसकेको गठबन्धनका शिर्ष नेताहरुले जनाएका छन् ।
गठबन्धनभित्र स्थानीय, प्रदेश र प्रतिनिधि सभामा समेत तालमेलको भद्र सहमति बनेको विश्वस्त स्रोतले जनाएको छ। अहिलेलाई आ आफ्नो शक्ति बढाउन सक्रिय हुने र चुनावमा एकैपटक तालमेललाई व्यवहारमा उतार्ने गरी रणनीति बनाएका छन् ।
भद्र सहमति अनुसार स्थानीय निकायको निर्वाचनमा यसअघि जुन दलले जित हासिल गरेको हो त्यहाँ त्यही दललाई प्राथमिकतामा राखेर साझा उम्मेदवार बनाउने सूत्र तयार गरिएको छ । महानगरपालिकाहरुमा काँग्रेसले यसअघि मेयर जितेको स्थानमा काँग्रेसको उम्मेदवारलाई गठबन्धनका अन्य दलले सघाउने विषय छ ।
माओवादीले जितेकोमा माओवादीले र नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका पालिका प्रमुखहरुको ठाउँमा उक्त दलकै उम्मेदवारलाई गठबन्धनबाट साझा उम्मेदवार बनाइने भएको छ ।
पालिकाको उपप्रमुख देखि वडाध्यक्षलगायतमा पनि मापदण्ड बनाएर सहमति बनाउने गरी तयारी भएको बुझिएको छ ।
गठबन्धनका दलबाहेकले जितेको पालिकाहरुमा भने गठबन्धनको दलको उक्त पालिकामा शक्तिको अवस्था हेरेर नेताहरुले मापदण्ड बनाउने तयारी गरेका छन् ।
प्रतिनिधि सभा र प्रदेश क्षेत्रमा हाल जुन दलको सांसद छन् सोही दलको सिट सुरक्षित हुने गरी मापदण्ड बनाउने सहमति समेत बनेको छ । यसमा केही परिमार्जन समेत हुनसक्ने बुझिएको छ । प्रत्यक्षतर्फ माओवादीले काँग्रेसले भन्दा बढी सिट जितेको छ । तर, सिट मिलाउँदा गठबन्धनबाहेकको दलले जितेको स्थानमा काँग्रेसले बढी सिट पाउने गरी तालमेल मिलाउने गरी तयारी भएको छ ।
