मन्त्रीबाट हट्ने भएपछि एमालेमै फर्किने श्रेष्ठ र आलेको तयारी

२ चैत्र २०७८, बुधबार ०९:००

सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीबाट गृहकार्य सुरु गरेको छ । पूर्वसहमति अनुसार मन्त्रीलाई फिर्ता बोलाउन सो पार्टीले गृहकार्य सुरु गरेको हो ।

मन्त्री बनाउने बेलामै ६ महिनापछि फिर्ता आउने र अरूलाई पठाउने सहमति भएको एकीकृत समाजवादी स्रोतको दाबी छ ।
पूर्वसहमतिका साथै सरकारमा पार्टीको तर्फबाट सहभागी मन्त्रीले मन्त्रालयको काम प्रभावकारी रूपमा गर्न नसकेको, पार्टी र मन्त्रालयबीचको समन्वय नगरेको, पार्टी नेताकार्यकर्ताको गुनासो सम्बोधन नगरेको, मनोमानी काम गरिरहेको, कमिसनमा लिप्त भएको आरोपसमेत मन्त्रीमाथि छ ।

हालैसम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा समेत मन्त्रीहरूको आलोचना भएपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले मन्त्रीलाई फिर्ता बोलाएर अरू नेतालाई मन्त्री बनाउने’ तयारीमा छलफल गरेको स्रोतको जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकीकृत समाजवादीले सहरी, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, श्रम मन्त्रालय पाएको छ । सहरी मन्त्रालयमा रामकुमारी झाक्री, स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेम आले, श्रममा किसान श्रेष्ठ मन्त्री रहेका छन् । यस्तै, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ रहेका छन् ।

मन्त्रीबाट फिर्ता हुनुपर्ने भएपछि किसान श्रेष्ठ, प्रेम आलेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको विषयमा समेत पार्टीभित्र चर्चा भइरहेको छ ।

तत्कालीन एमालेमा हुँदा श्रेष्ठ र आले ओली समूहमा रहेका थिए । तर, उनीहरू नेपालले नयाँ पार्टी दर्ता गरेपछि एकीकृत समाजवादीमा मन्त्री बन्नकै लागि आएका थिए । मन्त्रीबाट हट्ने भएपछि एमालेमै फर्किने तयारीसमेत यी दुई नेताले गरेको स्रोतको दाबी छ ।