अबको महासचिव महिला होस् भन्ने चाहान्छु : अध्यक्ष अब्दुल्ला शाहिद

१ चैत्र २०७८, मंगलवार १४:०१

संयुक्त राष्ट्रसंघको अबको महासचिव महिला हुनुपर्ने संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष अब्दुल्ला शाहिदले धारणा राखेका छन् ।

महासचिवमा अहिलेसम्म कुनै पनि महिला चयन भएका छैनन् भने महासभाको ७६ औ सत्रमा चार जना मात्रै महिला अध्यक्ष निर्वाचित भएका छन् । महिलाको स्थितिसम्बन्धी आयोगको ६६ औँ अधिवेशनको उद्घाटन गर्दै यस्तो व्यवस्थालाई सच्याउन आवश्यक रहेको शाहिदले बताएका हुन् । ‘लैङ्गिक समानता र महिला सशक्तीकरणको सवालमा संयुक्त राष्ट्रसंघले विश्वभर उत्कृष्ट मापदण्ड लागू गर्न आह्वान गर्दै म व्यक्तिगत रूपमा अर्को महासचिव महिला होस् भन्ने चाहान्छु ।’

‘म व्यक्तिगत रूपमा अर्को महासचिव महिला हुनको लागि आह्वान गर्दै अगाडिबाट नेतृत्व गर्नेछु’ उनले भने । विगत ७६ वर्षमा संयुक्त राष्ट्रसंघका सबै नौ महासचिव पुरुष रहेका छन् । वर्तमान महासचिव एन्टोनियो गुटेर्रेस आफ्नो दोस्रो पाँच वर्षे कार्यकालको पहिलो वर्षमा रहेका छन् ।