लोसपा छाडेर एमालेमा प्रवेश गर्दै प्रह्लाद गिरी

१ चैत्र २०७८, मंगलवार १३:२८

सांसद प्रह्लाद गिरी लोकतान्त्रिक समाजवादी छोडेर नेकपा एमालेमा प्रवेश गर्न तय भएका छन्।
गिरीले सोमबार बालकोट पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर एमाले प्रवेशका लागि छलफल गरेका छन्।

महन्थ ठाकुरले जनता समाजवादी पार्टी छाडेर लोकतान्त्रिक समाजवादी पार्टी रोजेपछि गिरी पनि ठाकुरसँगै लोसपामा प्रवेश गरेका थिए।
पर्सा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित भएका गिरी लोसपाका केन्द्रीय सदस्य पनि हुन्। उनी आफ्नो निर्वाचन क्षेत्रका केही वडा अध्यक्षसहित एमालेमा प्रवेश गर्ने पक्का भए पनि मिति टुंगिसकेको छैन।

कार्यकाल बाँकी छँदै पार्टी फेर्दा प्रदेश सभा सदस्य पद जाने भएपछि गिरीले केही समय कुर्ने भएका छन्। तर बालकोटले उनलाई स्थानीय तह निर्वाचनअघि नै एमालेमा भित्र्याउने गरी तयारी गरिसकेको छ।