प्रकाश सपुतकाे `पिर´ गित ! उठेका गम्भीर प्रश्नकाे उत्तर कहिले देलान् ? श्रीधर खनालको विचार

३० फाल्गुन २०७८, सोमबार २१:५१

गायक प्रकाश सपुतको हालै आएको नयाँ गीत ‘पिर’ ले व्यापक बहस सिर्जना गराएको छ । गीतलाई हामीले दुई–तीन वटा पाटो/ पक्षबाट हेरेर विश्लेषण गरिनुपर्छ भन्ने म ठान्छु ।

‘पिर’ गीतलाई नकारात्मक पाटोबाट हेर्दा प्रकाशजीले जनयुद्धमा लड्नु गलत थियो, जनयुद्धको यात्रा गलत थियो, संघर्ष गर्नु गलत थियो भन्ने मुख्य भाव त्यसमा अभिब्यक्त गर्न खोज्नु भएको अर्थमा मैले बुझेँ, तर त्यो सत्य होइन ।

जनयुद्ध महान् थियो । यो यात्रा महान् थियो । नेपालमा अहिलेसम्म भएका संघर्ष, क्रान्तिहरुमा एउटा उचाईको क्रान्ति थियो । राष्ट्र र जनताको सुखद या राष्ट्र र जनताको उज्यालो भविश्य, स्वाधिनता र स्वाभिमानको निम्ति थियो जनयुद्ध  ।

त्यसैले उहाँले जान या अन्जानमा यसमा निराशा भर्न खोज्नुभएको छ, त्यो पक्ष गलत छ । म कसैको उक्सावटमा उहाँले यसो गर्नुभयो भनेर आरोपित गर्न चाहन्न । तर जान या अन्जानमा लड्नु गलत थियो, संघर्ष गलत थियो भन्ने भाव उहाँले गीतको माध्यमबाट दिन खोज्नुभएको छ, यो पाटोबाट यसको समिक्षा गर्नु जरुरी हुन्छ ।

दोस्रो  विवादित पक्ष भनेको पूर्व लडाकु महिला देह व्यापारमा लागेको भन्ने भावकाे दृष्य भिडियाेमा देखाइनु हुदैन थियो ।

त्यस दृश्यबाट मेरो मनमा उठेका प्रश्न, प्रकाश सपुतको बुझाईमा पीर बिसाउँने आधार भनेको महिलाको यौन संभोग गर्नु मात्रै रहेछ त । नत्र मनमुटुले माया गरेको मान्छेको बिछोडको पीर एक यौनव्यापारी महिलाको कोठा सम्म पुगेर बिसाईने अर्थात शान्त हुने कसरी हुनसक्छ ?

उनले चित्रन गरेको पीर जिन्दगीको पीर, अधिकारको पीर र जीबन साथीको पीर नभई सेक्सको अभावको पीर मात्रै रहेछ भन्ने प्रष्ट हुन्छ । पीर बिसाउँने ठाउँ पाईन भन्दै देहव्यापारी महिलाको कोठामा पुग्नुको कारण के ? के महिलाहरुको शरीर पुरुषहरुको पीर बिसाउँने ठाउँ हो प्रकाशको बुझाईमा ? यसको जबाफ सपुतले दिनुपर्छ ।

विवाद र चर्चामा आएको गीत पिर बारे त्यसका सर्जक तथा गायक प्रकाश सपूतले प्रस्टीकरण त दिएका छन् । सामाजिक सञ्जालमार्फत सोमबार उनले सबैको अपेक्षाअनुसार सिर्जना गर्न सम्भव नहुने बताएका छन् । यी मात्रैले पुग्दैन, खास प्रश्नको जवाफ आएका छैनन् । -श्रीधर खनाल