प्रधानमन्त्री देउवालाई रावलले दिए यस्तो जवाफ

३० फाल्गुन २०७८, सोमबार १५:५४

प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि दिएको अभिव्यक्तिमा सत्यता नभएको एमाले नेता भीम रावलले दाबी गरेका छन्।
एमसिसी परियोजनाबारे रावलले दुई जिभ्रे कुरा गरेको आज नुवाकोटमा बोल्दै प्रधानमन्त्री देउवाले बताएका थिए।

केपी शर्मा ओली नेतृत्वको सरकारले २०७३ असार ३१ मा अघि बढाएको एमसिसी परियोजना आफूले प्रतिनिधि सभाबाट पारित गरेको देउवाको भनाइ थियो। साथै देउवाले मन्त्री हुँदा रावलले एमसिसीबारे विरोध नगरेको तर अहिले विरोध गरेकोमा त्यसबेला दिमाग खुस्किएको थियो भन्ने प्रश्न गरेका थिए।

प्रधानमन्त्रीले आक्रोशपूर्ण अभिव्यक्ति दिएको केही समयमै रावलले ट्वीटबाट जवाफ दिँदै प्रधानमन्त्रीले तथ्यहीन कुरा गरेको बताएका छन्।
उनले एमसिसी संसदमा ल्याएका बेला आफू उपप्रधानमन्त्री नरहेको पनि बताएका छन्।

‘सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुठा बोल्ने प्रधानमन्त्री या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहितविरूद्धको कत्य छोप्ने कुत्सित चाल हुनुपर्छ,’ रावलले भनेका छन्।

आफू देशभक्त नागरिक भएकोले राष्ट्र हित र अस्मिताप्रति चिन्तित भएर टाउको दुखेको रावलको भनाइ थियो। प्रधानमन्त्री देउवाले एमसिसीबारे रावलको मात्रै टाउको दुखेको बताएका थिए।