उहाँ नहुँदा पार्टीभित्र असाध्यै दुःख भोग्ने दुःखी पात्र म बन्न पुगेको छु : प्रचण्ड

२९ फाल्गुन २०७८, आईतवार १०:३९

दिवंगत कम्युनिस्ट नेता पोष्टबहादुर बोगटीको सालिक अनावरण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।

नुवाकोटको विदुर नगरपालिका–५ स्थित पीपलटारमा निर्माण गरिएको बोगटीको सालिक अनावरण शनिबार स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रचण्डले गरेका हुन् ।

३० भदौ ०७१ मा ६१ वर्षको उमेरमा माओवादी नेता बोगटीको निधन भएको थियो । बोगटी स्मृति पार्कमा तीनकोठे पोष्टबहादुर बोगटी स्मृति पुस्तकालय भवन, दुईकोठे अस्थायी निवास र टिकटघर निर्माण भएको प्रतिष्ठानले जनाएको छ ।

प्रचण्डले माओवादी देशको संकटमोचनको भूमिकामा रहेको बताए । ‘देशलाई संकट पर्‍यो भने निकास दिनुपर्ने मुख्य दायित्व र जिम्मेवारी माआवादी केन्द्रको हो, त्यसैले हाम्रो पार्टी संकटमोचन भूमिकामा छ,’ प्रचण्डले भने । प्रचण्डले विगतमा पार्टीभित्र अन्तरसंघर्ष हुँदा नेता बोगटीले समाधानको बाटो दिने गरेको भन्दै उनको प्रशंसा गरे । बोगटीको निधनपछि आफैँ एक्लै भएको प्रचण्डको भनाइ थियो ।

‘उहाँ नहुँदा अहिले पार्टीभित्र असाध्यै दुःख भोग्ने दुःखी पात्र म बन्न पुगेको छु,’ प्रचण्डले भने, ‘डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण, मलगायत हामी सिनियर थियौँ । तर, उहाँले टेबल ठटाएपछि हामी वरिष्ठ भन्ने नेताहरूको करिब–करिब सातो जान्थ्यो ।’