पछिल्लो समय तरलता अभाव कायमै देखिएको छ । तरलता सहज हुने अवस्था नरहेपछि बैंकहरुबीच चैतमा ब्याजदर नबढाउने सहमति भएको छ ।
नेपाल बैंकर्स संघको हालै बसेको बैठकले चैतमा ब्याजदर नबढाउने सहमति गरिएको एक वाणिज्य बैंकका सीइओले बताए ।
‘ब्याजदर बढाउँदैमा निक्षेप बढ्ने अवस्था नरहेपछि संघले चैतमा ब्याजदर नबढाउने सहमति गरेको छ,’ एक बैंकका सीइओले भने, ‘चैतमा पनि तरलता सहज हुने अवस्था देखिँदैन ।’
राष्ट्र बैंकको नियमअनुसार अर्को महिना लागू हुने ब्याजदर यो महिनाकै अन्तिम दिन प्रकाशित गर्नुपर्छ । यसरी प्रकाशित गर्दा विद्यमान ब्याजदरमा १० प्रतिशतभन्दा बढीले बढाउन पाइने छैन ।
फागुन महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा १०.३ प्रतिशत ब्याजदर दिइरहेका छन् । त्यस्तै, बचतमा ५ प्रतिशत र कलमा ३.१५ प्रतिशतसम्म दिइरहेका छन् । माघको भन्दा फागुनमा बैंकहरुले १० प्रतिशतले ब्याजदर बढाएका थिए ।
राष्ट्र बैंकका गभर्नरले ब्याजदर बढाउन भनेपछि यसअघि संघले संस्थागत निर्णय गरेरै ब्याजदर बढाएको थियो । यद्यपि बैंकमा निक्षेप भने बढ्न सकेको छैन ।
गत असोजदेखि बैंकहरुमा लगानीयोग्य पुँजी (तरलता)को चरम अभाव छ । आर्थिक वर्षको शुरुवाती महिनामै बैंकहरुले निक्षेपको तुलनामा अत्याधिक कर्जा विस्तार गरेपछि तरलता अभाव चुलिएको हो ।
पछिल्लो केही महिनायता राष्ट्र बैंकले आयात र कर्जा विस्तारमा कडाइ गरेको छ । यद्यपि अवस्था सहज हुन सकेको छैन ।
‘तरलता प्रसोचन गर्नुपर्ने बेलामा राष्ट्र बैंकले रिफाइनान्सको पैसासमेत फिर्ता लान थालेको छ,’ एक बैंकका सीइओले भने, ‘राष्ट्र बैंक नै कर्जा रोक्न लागेपछि बैंकहरुले कर्जा दिनसक्ने अवस्था नै छैन ।’
