
शनिबार जनता समाजवादी पार्टी त्यागेर बारा जिल्लाको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्ष मुस्तफा अन्सारी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
अध्यक्ष अन्सारी आफूनिकट वडाध्यक्ष र पार्टीका नेता कार्यकर्तासहित बाराको जयनगर (चिउँटाहा) मा आयोजित विशाल जनसभामा एमालेमा प्रवेश गरेका हुन् ।
अध्यक्ष केपी शर्मा ओली आफैं बारा पुगेर मुस्तफालाई एमालेमा प्रवेश गराएका छन् । अध्यक्ष ओलीसँगै मधेश इन्चार्ज रघुवीर महासेठ,प्रभु साह,ज्वालाकुमारी साह लगायतका नेताहरु बारा पुगेका थिए ।
नवप्रवेशीहरुलाई अबिर माला लगाएर एमालेमा स्वागत गरिएको थियो । मुस्तफाले जसपा लगायत मधेशवादी पार्टीले मधेशी जनतालाई झुक्याएको र एमालेलाई मधेशविरोधी भनिए पनि मधेशको विकासमा केपी ओलीकै पालामा ठूला काम भएको भन्दै आफू एमाले प्रवेश गरेको बताए ।
ओलीले अब मधेश प्रदेशमा एमालेले तुफान सिर्जना गरेको भन्दै अहिलेका प्रवेशहरु ट्रेलरमात्र भएको बताए । मधेशका जिल्ला सदरमुकामको सडक बिस्तारदेखि ठूला पुर्वाधारको सुरुवात आफूले गरेको ओलीले बताए ।
