
संसदबाट एमसीसी पास गरेपछि माओवादीप्रति जनताको भरोसा झनै बढेको माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले बताएका छन्।
अध्यक्ष प्रचण्डले देशको हरेक कठिन परिस्थितिमा पनि माओवादीले देशलाई सही गतीमा डोर्याउन निर्णायक भूमिका खेलेको बताए । माओवादी कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीले देशलाई सही गतीमा डोर्याउन निर्णायक भूमिका खेलेकाले जनतामा थप भरोसा बढेको बताएका हुन्।
गठबन्धन सरकारलाई ढालेर देशलाई खतरातर्फ लिने तत्वविरुद्ध अन्तिम चरणमा आएर माओवादीले महत्वपुर्ण भूमिका खेलेको बताउँदै एमसीसी पास गर्ने क्रममा राष्ट्र नै विभाजन हुनबाट बचाएको उनले दावी गरे ।
‘कठिन परिस्थितिमा देशभित्र हुने हरेक घटनाक्रममा माओवादीले निकासमा लैजान निर्णायक भूमिका निर्वाह गर्दै आएको छ। त्यसको पछिल्लो उदाहरण एमसीसी हो,’उनले भने, ‘गठबन्धन बचाइ राष्ट्र विभाजन हुन नदिन एमसीसीलाई पास गरेपछि माओवादीप्रति जनताको भरोसा झनै बढेको छ।’
व्याख्यात्मक घोषणामा अमेरिकाको समर्थन भएकाले यसको महत्व बढेको र अपौचारिक पत्र पठाएर जवाफ लिन सरकारको ध्यानाकर्षण गराएको प्रचण्डले उल्लेख गरे।
पार्टी विभाजन हुन लाग्यो भन्ने चर्चा केही दिन भएपनि केन्द्रीय समितिबाट पार्टीलाई एकतावद्ध गर्न निर्णय गरिएको प्रचण्डले जिकीर गरे ।
