
एक लाख म्यादी प्रहरी आगामी स्थानीय निर्वाचनको सुरक्षाका लागि भर्ना गरिने भएको छ। एक लाख म्यादी प्रहरीका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेको छ।
म्यादी प्रहरीका लागि गृह मन्त्रालयले एक लाख १८ हजार बजेट माग गरेको थियो। ४० दिन बराबरको मात्र बजेट अर्थ मन्त्रालयले म्यादी प्रहरीलाई दिएको छ। म्यादी प्रहरीका लागि गृह मन्त्रालयले भने ४५ दिनका लागि प्रस्ताव गरेको थियो।
स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसँग पनि एक लाख १८ हजार २ सय ३१ जना म्यादी प्रहरी ५० दिनका लागि भर्ना गरिनुपर्ने प्रस्ताव गरेको थियो। म्यादी प्रहरीसहित समग्र निर्वाचन सुरक्षाका लागि प्रस्ताव गरिएको बजेट पनि व्यापक कटौती भएको छ।
प्रहरी प्रधान कार्यालयले करिब ११ अर्ब माग गरेकामा गृहले ९ अर्ब हारहारीमा अर्थसँग बजेट माग गरेको थियो। बजेट भने करिब ६ अर्ब मात्र स्वीकृत भएर आएको गृह मन्त्रालयका एक अधिकारीले बताए।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले अर्थबाट बजेट स्वीकृत भएको पत्र गृह मन्त्रालयसम्म आइपुगेको जानकारी पाएको बताए। उनले प्रहरी प्रधान कार्यालयलाई पत्र प्राप्त हुने वित्तिकै म्यादी प्रहरी भर्नाका लागि विज्ञापन खोलिने बताए।
‘आज भोलीमै पत्र प्राप्त भयो भने एक साताभित्र विज्ञापन खोलिने छ, एसपी केसीले भने। स्थानीय निर्वाचन आगामी बैशाख ३० गते देशब्यापीरुपमा एकै चरणमा हुँदै छ।
