
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन गरेरै चुनावमा सहभागी हुने बताएका छन्।
आफ्नै पार्टीभित्र आगामी चुनावमा गठबन्धन गर्ने वा नगर्ने विषयमा विवाद रहिरहेको अवस्थामा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
आफू प्रधानमन्त्री हुन नचाहँदा नचाहँदै पनि गठबन्धनका नेताहरुले सहयोग गरेर प्रधानमन्त्री भएको पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै बाताए।
वास्तवमा मैले प्रधानमन्त्री हुन खोजेकै थिइनँ। सबै साथीहरुले, गठबन्धनका साथीहरुले माओवादी केन्द्र, एकीकृत समाजवादी, मधेसका पार्टीहरु सबैले सहयोग गरेर म प्रधानमन्त्री भएको हुँ, उनले भने, अहिले परिस्थिति बदलिएको छ। डर त्रास हटेको छ। लेख्ने बोल्ने स्वतन्त्रता प्राप्त छ। हाम्रो पार्टीको उद्देश्य नै लोकतन्त्रलाई स्थायी गराउने हो।
देउवाले गठबन्धनका नेताहरुको सहयोगले आफू प्रधानमन्त्री भएको भन्दै गठबन्धनसित आउँदो स्थानीय तहदेखि माथिको चुनावमा गठबन्धन हुने बताए। गठबन्धनका साथीहरुले कुनै पनि किसिमले बेवास्ता गर्ने कुरा छैन। हामीले सबैको सहयोग लिएर अगाडि जानुपर्छ,उनले भने।
उनले गठबन्धनको विपक्षमा रहेका आफ्नै पार्टीका नेताहरु लक्षित गर्दै गत निर्वाचनमा एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो ? भन्दै प्रश्न गरेका थिए। त्यतिबेला आफूहरु हारेको भन्दै अहिले गठबन्धनकै सरकार भएको कारणले मिलेर चुनावमा जानुपर्ने उनको भनाइ थियो।
नेपालको अहिलेको संविधान अनुसार कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन सक्दैन। कुनै पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ। त्यसैले गठबन्धनका साथीहरुको सहयोगले सरकार बनेको हो। म प्रधानमन्त्री भएको छु। ठाउँठाउँमा समस्या होलान्। जिल्लामा होलान्, गाउँमा होलान्, प्रदेशमा होलान्। यी सबै बसेर कुराकानी गरेर मिलाउनुपर्छ। उहाँहरुका पनि बुझ्ने नेताहरु हुनुहुन्छ। हाम्रा साथीहरुले पनि कुरा बुझ्नुपर्छ,उनले भने।
देउवाले गठबन्धनलाई एकसाथ लैजानु प्रजातन्त्रका लागि, नेपालका लागि, आफ्नो पार्टी स्वयंका लागि पनि आवश्यक रहेको बताए।
