नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले गरेको स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्र छाप्न हरियो रंगको मसी प्रयोग गर्ने निर्णयमा आपत्ति प्रकट गरेका छन् ।
प्रमुख विपक्षी नेताले नै प्रश्न उठाएकाले हुन सक्छ निर्वाचन आयोगले पनि तुरुन्तै हरियो मसी प्रयोग गर्नुको उपादेयता खुलाएर स्पष्टीकरण दियो । आयोगका अनुसार हरियो मसीमा छापिएको चिन्ह मतदाता र गणकहरूका लागि सुविधाजनक हुन्छ ।
विगतका निर्वाचनहरूमा पनि मतपत्र छाप्न हरियो मसीको प्रयोग भइसकेको छ । अध्यक्ष ओलीले भनेजस्तो हरियो रंगमा छापिँदैमा सबै चिह्न रुखैरुख देखिने पक्कै हुँदैन । यसैले अहिलेसम्म मसीको रंगका विषयमा प्रश्नै नउठेको हुनुपर्छ ।
नेपालका अधिकांश राजनीतिक नेताहरू यस्तै अनर्गल टिप्पणी गर्न अभ्यस्त छन् । भिडको चाहनाअनुसार बोल्नेमात्र हैन अनावश्यक र अनुचित विवाद खडा गर्ने पनि उनीहरूको बानी नै परेको देखिन्छ ।
सम्भवतः संसारको कुनै मुलुकमा पनि देशको प्रधानमन्त्री भइसकेका संसद्का प्रमुख विपक्षी नेताले यस्तो हल्का टिप्पणी गर्दैनन् । यद्यपि, ओलीले विगतमा पनि अनेकौंपटक यस्तै हास्यास्पद टिप्पणी सार्वजनिकरूपमै गरिसकेकाले उनको कथनलाई गम्भीरतापूर्वक नलिए पनि हुन्थ्यो ।
