एससीसी सम्झौता बुझाउन घर–घरमा कांग्रेसले पुस्तिका पुर्‍याउने

२३ फाल्गुन २०७८, सोमबार १३:१६

एससीसी सम्झौता बुझाउन नागरिकलाई घर–घरमा नेपाली कांग्रेसले पुस्तिका पुर्‍याउने भएको छ ।

पुस्तिकासहित भिडिओ पनि बनाउने क्रममा रहेको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार गरिएको छ ।

चुनावी प्रचार अभियानसँगै एमसीसीको भ्रम हटाउने उनले बताए। ‘चुनावी अभियान फागुन २९ गतेबाट सुरु हुन्छ। एमसीसीको सत्यता के हो भनी कांग्रेसले घर घरमा पुस्तिका पठाउँछ।’ खड्काले भने। देशभरका वडा कार्यसमितिका सदस्यलाई सक्रिय बनाई घर–घरमा पुस्तिका पुर्‍याउने बताइएको छ ।

फागुन २० गतेदेखि सुरु गर्ने तय गरिएको प्रचार अभियान ९ दिन पछि सारिएको छ। फागुन २९ देखि चैत २९ सम्म प्रचारात्मक अभियान गरिने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । संगठन सुदृढीकरणसहित स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउने लक्ष्य राखेर ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गरिने उनले बताए ।

प्रचार अभियानमा पार्टीका सबै संगठनका परिचालन गरिने भएको छ। ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीति पार्टीले लिएको महामन्त्री शर्माले बताए ।

स्थानीय तहमा कांग्रेसमा आवद्ध अधिकतमलाई जिम्मेवारी सुम्पने तयारी गरिएको छ। ‘पद हुने तर जिम्मेवारी नहुने हाम्रो पुरानो प्रचलन छ।यसपटक जिम्मेवारीविहीन बनाउँदैनौं।’ उनले भने ।

प्रचार अभियानमा ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटिने छन् । चुनावी प्रसारलाई वृहत् गराउने उद्देश्यले अभियानको घोषणा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाबाट हुने बताइएको छ।