निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु

२३ फाल्गुन २०७८, सोमबार १२:४९

एकै परिवारका चार जना ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा मृत भेटिएका छन्।

कोन्ज्योसोम गाउँपालिका ४ नल्लुको एउटा घरका चार जना सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका थिए।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले उनीहरूको निसास्सिएर मृत्यु भएको अनुमान गरिएको बताए।

‘घटनास्थलमा हामी पुग्दैछौं, फरेन्सिक डाक्टरसहितको टोली लिएर हिँडेका छौं,’ उनले भने।
मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, बुहारी २२ वर्षीया सुष्मा स्याङताङ, नाति ९ वर्षीय आशिष स्याङताङ र ५ वर्षीया नातिनी आशमा स्याङताङ रहेका छन्।

छोरा २२ वर्षीय सुभाष स्याङताङ र नाबालक २ दिनको नवजात शिशु बेहोस् अवस्थामा फेला परेका छन्।
बुहारी सुष्मा सुत्केरी भएका कारण कोठामा आगो बालेर सुतेको र त्यहीँ उनीहरू मृत भेटिएको पोखरेलले बताए।